काठमाडौं - धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी सामुदायिक वनमा बिहीबार घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको स्थापना गरिएको छ।
नगरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले संयुक्तरूपमा उदघाटन गरे ।
उपमहानगरपालिका र डिभिजन वन कार्यालय धनगढीको सहयोगमा उक्त आरक्षण केन्द्रको स्थापना गरिएको बताइएको छ । नगरप्रमुख वडले शिवपुरी धाममा पर्यटक भित्र्याउनका लागि त्यस नजिकै ‘मिनी जु’ स्थापना गरिएको बताए । “घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रमा अहिले एउटा रतुवा र एउटा चित्तललाई राखिएको छ”, उनले भने, “यहाँ जनावरको सङ्ख्या थप गर्दै लगिने छ ।”
आरक्षण केन्द्रमा घाइते तथा टुहुरा वन्यजन्तुको उपचार गर्ने, संरक्षण गर्ने काम पनि गरिने तथा वन्यजन्तु हेर्न आउनेका लागि यो ठाउँ खुला गरिने बताइएको छ । रासस