काठमाडौं उपत्यका प्रवेशको पूर्वी–नाका काभ्रेपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो । हाल थप आठ जनामा संक्रमण देखिएको हो ।
मंगलबार काभ्रेपलाञ्चोकमा देखिएका १० संक्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमान्ड पोस्टले जनाएको छ । संक्रमितलाई उपचारका लागि तत्कालै आइसोलेसनमा राखिएको पोस्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए । उनका अनुसार जिल्लामा हालसम्म ४० सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमण देखिएयता उपत्यका प्रवेशको पूर्वी नाका साँगामा नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगै थप सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
गत साउनमा साँगा नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ मा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले एक हप्ताको अवधिमा सवारी साधनका ३ हजार ४ सय ८२ यात्रुको स्वाब परीक्षण गर्दा १३ मा कोरोना पोजेटिभ भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए । उनका अनुसार लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेशमा तीन नाका काभ्रेपलाञ्चोकको साँगा, ललितपुरको फर्पिङ र काठमाडौँको थानकोटमा यात्रुको कारोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो ।
साताअघि साँगा नाकामा सङ्क्रमण देखिएका दुई सुरक्षाकर्मीको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्दा केहीलाई संक्रमण देखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले जनाएको छ । उसले ‘विशेष सतर्कता’ अपनाई स्वास्थ्य–सुरक्षा मापदण्डानुसार गतिविधि गर्न आफ्ना प्रहरी कर्मचारीलाई भनेको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका पाँचमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण दर बढिरहेको पोष्टको तथ्यांकले देखाएको छ ।
पोष्टका अनुसार हालसम्म बनेपास्थित संघीय प्रहरी कार्यालयका १९ प्रहरी कर्मचारी, सशस्त्र प्रहरीका १०, धुलिखेलस्थित नेपाली सेनाका आठ र जिल्ला प्रहरी कार्यालय धुलिखेलका तीन प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ । ‘सुरक्षाकर्मीपछि जिल्लामा स्वास्थ्यकर्मी उच्च जोखिममा रहेका छन्,’ झाले भने । उनका अनुसार जिल्लामा कार्यरत ६६ स्वास्थ्यकर्मी, अस्पतालमा उपचाररत १०४, समुदायमा रहेका ८६, वैदेशिक रोजगारबाट फर्केका २५, ६ कर्मचारी, दुई जनप्रतिनिधि, एक कानुन व्यवसायी र एक सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
पोस्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म २१२ पुरुष र १२२ महिला सङ्क्रमित भएका छन् । तीमध्ये दुईको मृत्यु भएको छ भने १५९ उपचारपछि घर फर्किएका छन् । अन्य १७३ सक्रिय संक्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् । जिल्लास्थित १३ स्थानीय तहमा ९०३ शय्याको क्वारेन्टिन तथा २०९ शय्याको आइसोलेसन व्यवस्थित गरिएको छ । हाल २३ पुरुष र ३७ महिला स्थानीय तहको क्वारेन्टिनमा बसेका छन् ।