काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् ।
कोरोनाविरुद्धको खोप बनाइरहेका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने मोदीले बताए ।
देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी दिए ।
उनले प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक बृद्धि भइरहेको बताउनुभयो । खोप उत्पादनका लागि बैज्ञानिकहरुले कडा मेहनत गरिएको उहाँको भनाई छ ।
“अहिले भारतमा एउटा हैन, दुईटा हैन, तीन ओटा खोपको परीक्षणको चरण चलिरहेको छ, चाडै नै सकारात्मक नतिजा सार्वजनिक हुने बैज्ञानिकहरुले बताएका छन, त्यो परीक्षण सफल भएपछि ठूलो मात्रामा औषधीको उत्पादन गर्ने तयारी पनि भइरहेको छ,” उनले भने ।
उनले कोरोनाविरुद्धको खोप तथा उपचारका लागि १ सय ३ करोड भारतीय रुपैया कोषमा राखेको बताए । रासस