काठमाडौं - सिन्धुलीका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोरोनाको सङ्क्रमित बढ्दैसँगै स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् ।
हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी लकडाउनको घोषणा गरेका छन् ।
सिन्धुलीमा कोरोना सङ्क्रमण बढेको र समुदायमा सङ्क्रमण देखिएकाले जिल्लाका पाँच स्थानीय तहले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहेको जनाएका छन् ।पालिकावासीलाई सूचनामार्फत पालिकाले गरेको आग्रहलाई वेवास्था नगर्न अपिल गरिएको छ ।
जिल्लाको कमलामाई नगरपालिकाले मङ्गलबार रातिदेखि नै लकडाउन गरेको हो भने अन्य स्थानीय तहमध्ये सुनकोशी, गोलञ्जोरले बिहीबारदेखि लकडाउन गरेका हुन् ।
शुक्रबारदेखि तीनपाटन गाउँपालिकाले पनि आफ्नो गाउँपालिकामा लकडाउनको घोषणा गरेको जनाएको छ । मरिण गाउँपालिकाले पनि लकडाउनको घोषणा गरेको छ ।
हिजो एकै पटक १३ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएपछि जिल्लामा त्रास बढेको छ । रासस