काठमाडौं– सिन्धुपाल्चोकको लिदीमा बिहान ६ बजे गएको पहिरामा परी घाइते भएका तथा मृतकको सनाखत हुन नपाउँदै फेरि बिहान १० बजे सुख्खा पहिरो झरेको छ ।
उद्धार गर्दैगर्दै फेरि पहिरो झरेका कारण थप केही मानवीय क्षति हुनाका साथै केही घर पुरिएको गुगल गाउँपालिका– ५ का वडाध्यक्ष सनतकुमार अधिकारीले जानकारी दिए ।
‘घाइतेको उद्धार गर्दागर्दै फेरि पहिरो गयो, थप केही मानवीय क्षति हुनुका साथै घर पुरेको छ’, अधिकारीले जानकारी दिए । पहिरोमा कति क्षति भयो भन्ने यकिन हुन नसकेको अधिकारीको भनाइ छ ।
लिदीबाट पहिलो चरणमा सिकिस्त घाइते भएका दुई महिला र दुई पुरुषलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइतेलाई हेलिकप्टरबाट चौतारा ल्याई उपचारका लागि पठाइएको हो । अन्यको उद्धार जारी राखिएको प्रहरीले जनाएको छ ।