काभ्रेपलान्चोक– धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । एक बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘अस्पताल क्षेत्र सिल गरिएसँगै अस्पताल वरपर व्यवसाय गर्नेलाई आइतबारदेखि घरमै बस्न लगाइएको छ ।’
संक्रमितको घर बजारमै रहेकाले धुलिखेल बजार बन्द गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । वडा–७ स्थित संक्रमितको निवासक्षेत्रको ५ सय मिटर वरपरसमेत बन्द गरिएको छ ।
काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८ सय ४५ शय्याको क्वारेन्टिनमा ९० पुरुष र १३ महिला बसेका छन् । ९ सय ४ पुरुष र १८५ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका हुन् ।
जिल्लाभित्र होटल र रेस्टुरेन्टमा सामूहिक भोज, गोष्ठी वा अन्य सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिइएको छ ।