इनरुवा– सुनसरीमा युरिया मलको अभाव भएको छ । नेपाल–भारत सिमाना सिल गरिएकाले भारतीय युरिया मलसमेत ल्याउन नसक्दा सुनसरीमा मल अभाव भएको हो । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, कोशी, भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकाकालगायतका कृषकलाई धानबालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मल अभाव भएको हो ।
कृषक चन्दन मेहताले नेपाली बजारमा युरिया मल सहज रुपमा नपाउँदा कृषकलाई समस्या भएको बताए । युरिया मल अभावमा उत्पादनमा कमी आउने कृषकको भनाइ छ । बजारमा युरिया मलको अभाव भएको साल्ट ट्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले बताए ।
उनले युरिया मल आउने क्रममा रहेकाले भदौ २ गतेदेखि बजारमा पर्याप्त मात्रमा मल पाउने बताए । कोरोना भाइरसका कारणले सीमानाकालाई सिल गरेको भए पनि सुनसरीमा चोरी तस्करी भएर भारतीय युरिया मल आउने गरेको स्थानीय व्यापारीले बताएका छन् ।
खुला सीमा कारणले भारतीय युरिया मल नेपाली बजारमा आए पनि त्यसको मूल्य अधिक पर्ने गरेका कारण कृषकलाई समस्या भएको इनरुवा– १ स्थित कुशवाह एग्रोभेटका सञ्चालक पञ्चदेव मेहताले बताए ।