काठमाडौं– मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए ।
नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उनकोे भनाइ छ । पाँच महिनादेखि बिनारोजगारी कोठामा बसिरहँदा खर्च अभाव भएको श्रेष्ठले बताए । ‘५ महिनादेखि काम गर्न पाएको छैन’, श्रेष्ठले भने, ‘मलेसियास्थित नेपाली दूतावासमा अनलाइनमार्फत नेपाल आउन पटकपटक फर्म भर्यो तर नियमित उडान नहुँदा महँगो पर्ने भन्दै कम्पनीले पठाउन मान्दैन ।’
नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उनको भनाइ छ । चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहँुदा समस्या भएको भन्दै सहयोगका लागि अनुरोध गरेका छन् ।
मलेसियाबाट नेपाल आउनका लागि नियमित उडानमा छ सयदेखि सात सय रिङ्गेट तथा चार्टर्ड उडानमा एक हजार ५९० रिङ्गेट लाग्छ । विमानस्थल पुग्न छ घण्टा हिँड्नुपर्ने र त्यसका लागि ७० रिङ्गेट तथा कोरोना परीक्षणका लागि ३५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको अर्का नीरकुमार तामाङले बताए । कम्पनीले खर्च नबेहोर्दा नेपाल आउन उनीहरुले ५६ हजार ७९ तिर्नुपर्ने हुन्छ ।
खान र बस्नका लागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताए । नौ जनालाई हप्तामा २० केजी चामल दिने भए पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यस्था गरेको उनीहरुको भनाइ छ ।
खानाकै लागि एक जनालाई ४०० रिङ्गेट खर्च हुने घनश्याम श्रेष्ठले बताए । अहिले त्यस क्षेत्रमा पनि कोरोना देखिन थालेकाले जोखिम बढेको भन्दै उद्धारका लागि अनुरोध गर्नाको विकल्प नभएको उनले सुनाए । अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।
झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अम्मर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम अलपत्र परेका हुन् ।
– रासस