काठमाडौं– नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । आज एकै दिन कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।
ललितपुर, बुटवल, मोरङ र सप्तरीमा गरेर एकै दिन ५ जनाको मृत्यु भएको हो । बुटवलमा मृत्यु भएका २ जनामध्ये १ जनाको भने रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा ४२ वर्षीइ र २५ वर्षीय २ पुरुषको मृत्यु भएको हो ।
यता, ललितपुरको पाटन अस्पताल र किस्ट मेडिकल कलेजमा १/१ जनाको मृत्यु भएको हो । पाटन अस्पतालमा जनकपुरकी २८ वर्षीय महिलाको र किस्ट अस्पतालमा टेकुकी ७८ वर्षीय वृद्धाको मृत्यु भएको हो ।
यस्तै, मोरङ गंगोचोकका ५५ वर्षीय पुरुषको मृत्यु भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले जानकारी दिए । उनको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
उता, सप्तरीमा डाक्नेश्वरीका ८० वर्षीय बृद्धको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेसनका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्समानै मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।
आज मृत्यु भएका ५ जना सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।