काठमाडौं– उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । एमसिसीको पक्षमा बोल्दै आएकाले उनीमाथि ज्यान मार्ने धम्की आएको हो ।
उनले भने, ‘मलाई बझाङबाट फोन गरेर एक जनाले एमसिसीको पक्षमा बोले, जहाँ भेट्यो, त्यहीँ टाउको काट्छु भनेर धम्की दिएको छ । मैले एमसिसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नुभयो ।’
संसद्को उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेसबारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । अहिले नेटवर्किङ व्यवसायमा पनि एमसिसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टीकाटिप्पणी गरिरहेको उनले दाबी गरे ।
बैठकमा सांसदहरुले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ कोट्याउँदै अहिले फेरि मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको हो भन्दै प्रश्न गर्दा भट्टले भने कानुन कार्यन्वयन मात्र गरेको बताएका छन् ।
संसदले नै ०७४ सालमा नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानुन बनाएकाले अहिले मन्त्रालयले कार्यान्वयन गरेकाले त्यसमा कमिसनको चक्कर रहेको भन्ने प्रश्नै नरहने उनको दाबी छ । ‘मन्त्रालयले कानुनको कार्यान्वयन मात्रै गरेको हो । मिडियामा नेटवर्किङ कम्पनीबाट मन्त्रीले अर्बौ खाएको भन्ने समेत आरोप लगाइयो । ‘थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’ उनले भने ।