काठमाडौं– नेपालमा प्राकृतिक विपद्मा परी २ सय ५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि साउन १४ गतेसम्म पहिरो, बाढी र चट्याङमा परी २ सय ५ जनाको मृत्यु भएको हो ।
यस अवधिमा पहिरोमा १५२, बाढीमा ६ र चट्याङमा ४७ गरी २०५ जनाको मृत्यु भएको हो । त्यस्तै, पहिरोमा ४४ र बाढीमा १३ गरी ५७ जना बेपत्ता भएका छन् ।
प्राकृतिक विपद्मा परी घाइते हुनेको संख्यामा पनि उल्लेख्य रहेको छ । वैशाखदेखि १४ साउनसम्म २ सय ९३ जना घाइते भएका छन् । पहिरोमा १२९, बाढीमा ३ र चट्याङमा १६१ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।
मुलुकभर २४ घण्टामा ३० वटा विपद्का घटना परी ११ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । विपद्का कारण ३१ लाख ९६ हजारबराबरको क्षति भएको जनाइएको छ ।
