काठमाडौं– नेपाल प्रहरीले बरामद गरेको भनेको सुन प्रकरण अहिले रहस्यमय बन्दै गएको छ । प्रहरीले सुन बरामद गरेको स्थान र गाडीको नम्बर प्लेट प्रमाणिक नभएपछि कमलादीमा भएको भनिएको सुन प्रकरण रहस्यमय बनेको हो ।
यो प्रकरणको छानविन गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवकोे छानविन समितिले सुन प्रकरणको अपरेशन गरेका डीएसपी रञ्जन दाहालले घटनास्थल परिवर्तन गरेको र माथिल्लो निकायलाई समेत यो विषयमा थाहा नदिएको निष्कर्ष निकालेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलनमा सेतो रंगको कपडाको झोला फ्याँकेर एउटा गाडी कमलादीस्थित नबिल बैंक अगाडिबाट भागेको बताएका थिए । तर यादवकोे छानविन समितिले उक्त दिनको सीसी क्यामरा फुटेज हेर्दा कमलादीस्थित कुनै पनि घटना नभएको खुलेको छ ।
डीएसपी दाहालले आफ्नै सुरमा अपरेशन गरेको र आफ्नो क्षेत्रधिकार भन्दा बाहिर गएर काम गरेको बताइएको छ । सुरुमा १५ किलो सुन भनेर हल्ला गरिएपनि परीक्षणपश्चात आधा किलो सुन र बाँकी चाँदी भएको प्रमाणित भएको थियो ।
घटनामा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त दरबारमार्गको लापरबाही भएको देखिएको छ । झोलामा दुई थान हतियार पनि फेला परेको थियो ।