काठमाडौं– रुकुम पश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले ५ लाख आर्थिक सहयोग गरेका छन् । पत्रकार सम्मेलनमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
१० जेठमा भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयको कुटपिटमा परी मृत्यु भएको थियो । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घर गएका अन्य पाँच जनाको मृत्यु भएको थियो ।
सहयोग रकम मृतकका प्रत्येक परिवारलाई ५० हजारका दरले तीन लाख, प्रत्येक घाइतेलाई १० का हजारको दरले १२ जनालाई १ लाख २० हजार र कानुनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा ५ लाख रकम नगरपालिकाका प्रमुख घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।
श्रेष्ठले भने, ‘२१औं शताब्दीमा आएर पनि १६औं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाएसम्म मानिसको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।’ –रासस