सोलुखुम्बु– १४ लाख नगद सहित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेका ४ जनालाई पक्राउ गरेको हो ।
सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए ।
पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ ।
उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामद गरिएको छ । यति ठूलो परिमाणमा जुवा खालबाटै पक्राउ परेको यो जिल्लाकै पहिलो घटना हो ।