काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले प्रधानमन्त्री परिवर्तन गर्दा देश दुर्घटनामा पर्ने बताएका छन् । गजुरेलले संवाद क्लबद्वारा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल, माधव नेपाल वा शेरबहादुर देउवालाई सत्तामा ल्याउन खोज्नु समस्या समाधानको बाटो नभएर झन् दुर्घटनाको बाटो हुने बताएका हुन् ।
गजुरेलले परिणाममा आउने गरी जनताको पक्षमा काम गर्न सरकारलाई आग्रह गरेका छन् । संवाद क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उनले दुई तिहाइको वर्तमान सरकारसँग जनताको अति बढी अपेक्षा रहेको बताउँदै सोही अपेक्षाअनुसार प्रक्षत्य लाभ हुने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
नेता गजुरेलले हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीलगायत मुलुकमा व्याप्त समस्या समाधान गर्न सरकार क्रियाशील हुनुपर्ने उल्लेख गर्दै नेपालमा एमसिसी राष्ट्रिय हितविपरीत आएको बताए ।
उनले भने, ‘अब न्यायालयबाटै आम मानिसले न्याय पाउने अवस्था रहेन, केही दिनअघि सर्वोच्च अदालतले अपराधीलाई छुटकारा दिने काम गरेको छ । अपराधीलाई कारबाही गर्नुको सट्टा प्रोत्साहन गरिएको छ ।’