राँझा– बाँकेको बैजनाथ गाउँपालिकाको नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण प्रक्रिया सुरु भएको छ । औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्यांकन -इआइए_ स्वीकृत भएसँगै निर्माणको काम सुरु भएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।
करिब ३ सय ३८ बिघा क्षेत्रफलमा स्थापना हुने औद्योगिक क्षेत्रमा नेपाल सरकारको योजनाअनुसार प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने करिब २ सय बढी ठूला र मझौला उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले औद्योगिक क्षेत्र निर्माण गर्ने क्रममा हटाइएका सुकुमवासीको उचित व्यवस्थापन गरिने जानकारी दिए .
प्रदेश– ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश सरकारले रुपन्देही र बाँकेमा गरी चार औद्योगिक क्षेत्र निर्माण तथा स्तरोन्नति गर्ने कार्यमा अग्रसर भएको बताए .
…चालु अवस्थामा रहेका बुटवल औद्योगिक क्षेत्र र नेपालगञ्ज औद्योगिक क्षेत्रको स्तरोन्नति गर्ने र निर्माणाधीन अवस्थामा रहेका बाँकेको नौवस्ता र रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ,’ उनले भने ।
नेपाल सरकारले २०७२ चैत १ गते बाँकेको नौवस्तामा प्रदेश स्तरको ठूलो औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिकाको नौवस्तामा ३ सय ३८ बिघा जग्गा अधिग्रहण गरी सरकारले २०७३ जेठ २७ गते जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराएको थियो । आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रका लागि कूल ८ अर्ब ७ करोड खर्च हुने अनुमान गरिएको छ । औद्योगिक क्षेत्रभित्र पेन्ट्स, खाद्य, प्लास्टिक, केबल, स्टिल, साबुन, पाइप, काठ, पानी लगायतका उद्योग स्थापना हुनेछ ।–रासस