ललितपुर– ललितपुर महानगरपालिकाका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा बत्ती जडान गर्न लागिएको हो ।
कुपण्डोलस्थित नबिल बैंकअगाडि आज स्मार्ट सडक बत्तीको उद्घाटन गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महानगरका तीनवटा सडकमा ६ सय ६९ स्मार्ट सडक बत्ती जडान गर्न लागिएको बताए । उनले भने, ‘हामीले बाग्मतीको पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालयन होटल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार लगनखेल र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म सडक बत्ती जडान गर्न लागेका हौं ।’
ललितपुरमा रहेका छ पालिकामध्ये सो सडक बत्ती जडान गर्ने यो पहिलो पालिका रहेको उनको दाबी छ । महानगरपालिकाका उपप्रमुख गीता सत्यालले स्मार्ट सडक बत्ती सोलारभन्दा कम खर्चमा जडान हुने बताइन् ।
उनले भनिन्, ‘यो बत्ती निकै प्रभावकारी छ । यस बत्तीलाई कम्प्युटरको सहायताले सर्भर कक्षबाट नियन्त्रण गरिनेछ ।’ क्रम्टन महावीर जेभीले सडक बत्ती जडानको जिम्मा लिएको सत्यालले जानकारी गराइन् ।
४५ दिनमा परियोजना सम्पन्न गर्ने योजना महानगरपालिकाको छ । गत २०७६ भदौ २ गते सम्झौता भएको उक्त परियोजनामा महानगरपालिकाको ५ करोड २० लाख लाग्ने जनाइएको छ ।
दोस्रो चरणमा अन्य थप वडाहरु बुंमती, खोकना, सुनाकोठी, धापाखेल र हरिसिद्धिमा स्मार्ट बत्ती जडान गरिने बताइएको छ ।