काठमाडौं - बागलुङ जिल्लाको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
सोमबार रातिदेखि निरन्तर परेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।
मृतककी आमा होमकुमारी विक भने गम्भीर घाइते भएकी छन् । पालबहादुर हाल रोजगारीको सिलसिलामा विदेशमा छन् ।
त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुर्दा पाँच वर्षीय समिर परियारको मृत्यु भएको छ । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोला छेउमा फेलापरेको छ । रासस