काठमाडौं– निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइ स्कुल (भानु माध्यमिक विद्यालय) हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । २०७५ साउनबाट निर्माणको काम सुरु गरी गत चैतअघि नै निर्माणको काम सकिए पनि कोरोना महामारीका कारण अहिलेसम्म स्कुल हस्तान्तरण हुन नसकेको हो ।
चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्सनले लिएको थियो । ८५ करोडको लागतमा नौ रोपनी जमिनमा निर्माण गरिएको विद्यालय भवनमा चारतला र ४० कक्षाकोठा छन् । यस भवनको नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो ।
लामो समय काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै विद्यालयको पुनर्निर्माण सुरु भएको थियो ।