काठमाडौं - सरकारले बन्दाबन्दी खुला गरेसँगै पर्यटन क्षेत्रलाई चलायमान बनाउन यतिबेला पर्यटकीय गतिविधि बढ्न थालेका छन् । बन्दाबन्दीले करिब चार महिना व्यवसाय ठप्प भएकाले उसलाई चलायमान बनाउनका लागि अहिले पर्यटन व्यवसायी लागि परेका हुन् ।
कोराना कहरले होटल तथा रेष्टुराँ व्यवसाय बन्द भएपछि लामो समय घरमै थन्किएका सेफले नेपाली मौलिक खाना प्रदर्शन गरेका हुन् । मौलिक खानाका स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ललितपुरको सातदोबाटोस्थित आएएचएम कलेजमा शुक्रबार खानाका परिकार प्रदर्शनी भएको हो ।
नेपाली मौलिक खानाको प्रवद्र्धन कार्यक्रममा करिब ३० जना सेफले देशका सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका १३ वटा रैथाने खानाको प्रदर्शन गरेका थिए ।
प्रदेश १ बाट राजवंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, राई समुदायको किनामा, बाग्मती प्रदेशबाट नेवार समुदायको चटामरी, आलु, तामा र बोडी, त्यस्तै गण्डकी प्रदेशबाट आलङ्खु र काटुङ, प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा कर्णाली प्रदेशबाट मार्सी चामलको भात र कोदोको ढिडो तथा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व रहने गरी रोटा र चटनीलाई ‘प्लेटिङ’ गरेका थिए । - रासस