काठमाडौं - मुस्ताङ जाने र त्यहाँबाट फर्कने जो कोही पनिे रुप्से झरनाको सुन्दरतामा मोहित हुने गर्दथे । सबैलाई प्रशन्न र आनन्दित बनाउने रुप्सेको विशेषता नै थियो । तर अबदेखि भने अन्तरिक र बाह्य पर्यटकले रुप्से झरनाको सुन्दरतामा रमाउन नपाउने भएका छन् ।
केही दिनदेखि आएको पानी र भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनाखण्ड बिगारिदिएको हो । बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा रमाउने योजना बनाएका आन्तरिक तथा बाह्य पर्यटकले अब रुप्सेको पुरानो सौन्दर्य देख्न पाउने छैनन् ।
बाढीले झरनाको खण्ड बिगारको मात्र होइन एक होटेल, पुल र स्काभेटरसमेत बगाएको छ । विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएको थियो । अहिले प्रचलनमा नरहे पनि रुप्से झरनाको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बुढापाका बताउँछन् ।
साविकको दाना गाविसले रुप्से झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग र भ्युटावर निर्माण गरेको थियो । मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्री रुप्सेको मोहक सौन्दर्य देखेर लठ्ठिने गर्दथे ।
‘रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन देश विदेशबाट आएका मानिसको समेत भीड हुने गर्दथ्यो’, पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।
पुल नजिकै गाडीको भीड हुन्थ्यो, झरनाको दायाँ र बायाँको भागमा मानिस रमाउँदै तस्वीर लिन तछाडमछाड गर्दथे, अब त्यो सबै एकादेशको कथा जस्तै बन्यो । विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् ।
झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गर्दथ्यो ।
रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्युटावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको थियो ।
पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्यरुपमा बढेको थियो । स्थानीयले झरनामा कान्छा भुमे देवताको वासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा बोकोको बलि चढाउने गर्छन् । - रासस
