काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाविरुद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । केसीले अभिनेत्री राणाविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताएका छन् ।
अभिनेता केसी र अभिनेत्री राणाबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोपको क्रम चलिरहेको थियो । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै अभिनेत्री राणाले आफूलाई ठूला ब्यानरका व्यक्तिले नै दुर्व्यवहार गरेको भनेपछि सुरु भएको विवाद अन्ततः अदालतसम्म पुगेको छ ।
साम्राज्ञीले आफ्नो इज्जतमा दाग लाग्ने गरी शब्द प्रयोग गरेकाले अदालतसम्म पुग्न बाध्य भएको अभिनेता केसीले बताएका छन् । उजुरीमा चलचित्र ‘ड्रिम्स’को विषयमा भइरहेको विवादलाई समावेश गरेको केसीले जानकारी दिए । केसीले अब यो विषय अदालतमा पुगेकाले सबै फैसला अदालतले नै गर्ने जनाएका छन् ।