काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २४५औं जन्मजयन्तीका अवसरमा आज उनीलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । कोराना महामारीका कारण औपचारिक कार्यक्रम नगरी थापाप्रति श्रद्धासुमन अर्पण गरिएको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले जनाएको छ ।
नेपाल एकीकरण समाप्त भएको करिब ६ वर्षपछि १८३२ साउन ९ भीमसेन थापाको जन्म गोरखा बोर्लाङमा भएको थियो । वि.सं. १८५५ मा २३ वर्षकै उमेरमा उनी सरदार पदवी प्राप्त गर्न सफल भएका थिए । राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वका लागि अंग्रेजसँग युद्ध गरेका थापाले तत्कालीन राजदरबारको अनेक षड्यन्त्रमा परी जेलमा बन्दी अवस्थामै १८९६ साउन ८ गते प्राण त्याग गर्ने प्रयास गरेको आठ दिनपछि वीरगति प्राप्त गरेका थिए ।
२०५३ साउन १ गते स्थापित प्रतिष्ठानले स्थापनाकालदेखि नेपालको इतिहासबारे अध्ययन र अनुसन्धान गरी उल्लेखनीय कार्य गर्ने इतिहासकारलाई भीमसेन थापाको स्मृतिमा सम्मानपत्र एवं पुरस्कार प्रदान गर्दै आएकामा यस वर्ष भने वितरण गर्न नसकेको प्रतिष्ठानका सचिव लक्षण थापाले जानकारी दिए ।