काठमाडौं– श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) रञ्जनप्रसाद कोइराला जेलमुक्त भएका छन् । सर्वाेच्च अदालतको असार १५ गतेको आदेशानुसार ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरी कोइराला आज जेलमुक्त भएकाे डिल्लीबजार कारागार कार्यालयका जेलर गणेश आचार्यले जानकारी दिए ।
यसअघि उक्त मुद्दामा कोइरालालाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनलेसमेत जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
त्यसविरुद्ध प्रतिवादीकातर्फबाट सर्वाेच्चमा पुनरावेदन परेको थियो । उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले सजाय घटाउँदै ८ वर्ष ६ महिना कैद कायम गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितका न्यायाधीशले मुद्दाको सुनुवाइ गरेका थिए । कोइरालाले २०६८ मा पत्नी गीताको हत्या गरी शव नष्ट गर्ने उद्देश्यले मकवानपुरको पालुङमा लगेर जलाएको प्रहरीले जनाएको छ । -रासस