काठमाडौं - पछिल्लो समय अविरल रुपमा आएको पानीले ल्याएको बाढीका कारण काठमाडौं उपत्यकामा पनि खतराको घण्टी बज्न सुरु भएको छ ।
काठमाडौंको बाग्मती नदी, विष्णुमती नदी, टुकुचा खोला, गोदावरी, हनुमन्ते, मनोहरा खोलासँगै नजिक रहेका क्षेत्र बाढीको उच्च जोखिममा रहेका छन् ।
यी क्षेत्रमा निर्माण गरिएका संरचनाहरु नक्सा पास बिनै बनाइएका कारण हरेक वर्ष वर्षायामको समयमा जोखिममा पर्ने गर्दछन् ।
काठमाडौंको गोठाटारस्थित वाग्मती नदी करिडोर, त्रिपुरेश्वरदेखि टेकुसम्म बाग्मती नदी किनार, कलंकी–बल्खु खोलालाई बाढीग्रस्त क्षेत्रमा राखिएको छ ।
मनोहरा खोला नजिका बस्ती, टुकुचा खोलाको आसपास, धोबी खोला, मैतीदेवी ,थापाथली, शान्तिनगर, सुकुमबासी बस्ती र शंखमूल डुबानका जोखिमको सूचीमा छन् ।
त्यस्तै भक्तपुरको मनोहरा सुकुमबासी क्षेत्र, नरेफाँट, नयाँ ठिमी, राधेराधे, सल्लाघारी इवामुरा अस्पताल क्षेत्र र राम मन्दिर पनि डुबानको जोखिममा छन् ।