चितवन– सुलभ सिग्देलले दुई ठाउँमा सैलुन सञ्चालन गरेका छन् । उनी साउन ६ गते थप एक ठाउँमा सैलुन सञ्चालन गर्ने तयारीमा छन् । उनले १४ जनालाई रोजगारी दिएका छन् । उनको सैलुनको नाम पपुलर युनिसेक्स राखिएको छ । जहाँ तालिम पनि दिइन्छ ।
‘हालसम्म ४ सयभन्दा बढीले तालिम लिइसकेका छन्,’ उनले भने । तीमध्ये १४ जनाले सैलुन चलाउँदै आएको सिग्देलले बताए । सिग्देलको सैलुनमा महिला र पुरुषको कपाल काट्नेदेखि दुलाहा दुलहीसमेत सिँगारिन्छ ।
सिग्देलबाट तालिम लिएर माडीको वसन्तपुर बजारमा सैलुन चलाउँदै आएका विष्णु मगर मेहनतमा विश्वास गर्छन् । उनी स्वदेशमै मनग्य कमाउन सकिने बताउँछन् । ‘दैनिक २० जना हाराहारी ग्राहक आउँछन्, आफ्नै देशमा कुनै पेसा व्यवसाय गर्न सुझाव दिन्छु,’ उनले भने ।
किशोर थापा मगरले पनि सिग्देलबाटै तालिम लिएका हुन् । दुई वर्ष दुबई बसेर नेपाल फर्किएका किशोर विदेशमा भन्दा स्वदेशमै बढी कमाएको सुनाउँछन् । ‘मेहनत गर्यो भने यहीँ आम्दानी गर्न सकिन्छ,’ उनले भने । उनले सुरु सुरुमा २० हजारमा ६ महिनासम्म सैलुनसम्बन्धी तालिम दिन्थे । हाल ५० हजार लिएर ६ महिनाको तालिम दिने गरेका छन् ।
नेपालीले खोलेका सैलुनमा विवाहको शृंगार, कपाल रंग्याउने, कपाल ठाडो पार्ने, मेनिकेयर, पेडिकेयर जस्ता सेवा उपलब्ध छन् । यस्ता सैलुनले ५० रुपैयाँमा थ्रेडिङदेखि ४० हजारमा दुलाहा दुलहीलाई सिँगार्छन् ।
व्यवसायको जग
सात वर्षअछि सिग्देल कतारबाट फर्किएका हुन् । त्यतिबेला उनी स्वदेशमै रोजगारी सिर्जना गर्न तम्सिएका थिए । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका सुलभले सैलुनसम्बन्धी तालिम लिएर सैलुन सुरु गरेका हुन् ।
श्रीमती सुस्मिता र सिग्देलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम लिएका हुन् । उनले २०७१ साउन ६ गते सामान्य सैलुन व्यवसाय सुरु गरेका थिए । पाँच वर्षपछि मासिक ५० हजार भाडा तिर्ने गरी सैलुन विस्तार गरे ।
गत वर्षको साउन ६ गते नै सिजी मलमा मासिक १ लाख भाडा तिर्ने गरी ३० लाख खर्च गरेर सिग्देलले दोस्रो सैलुन सुरु गरे । यस वर्ष साउन ६ गते अर्को सैलुन दूरसञ्चार रोडमा सञ्चालन हुनेछ । जहाँ मासिक २० हजार भाडा तिर्नुपर्ने उनले सुनाए । उनी सैलुनको घरभाडा मासिक १ लाख ७० हजार तिर्छन् ।