गुल्मी– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन् । गुल्मीमा कोभिड–१९ संक्रमण तथा रोकथाम तथा नियन्त्रणका लागि आज तम्घासमा रेसुङ्गा नगरपालिकालाई पिसिआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सरकार परिवर्तन नहुने बताएका हुन् ।
ज्ञवालीले अहिलेको लडाइँ भनेको बेरोजगारी, विदेशबाट फर्किएकाहरुको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने एवं जनतालाई कसरी सुखी र समृद्ध बनाउने भन्ने कुरा नै मुख्य चुनौती रहेको बताए ।
स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिडविरुद्धको लडाइँमा सफलता मिलेको भन्दै मन्त्री ज्ञवालीले विज्ञबाट अझै पनि संक्रमण बढ्न सक्ने र खराबको स्थिति अझै सामना गर्न बाँकी रहेकाले त्यसको तयारीमा तीन सरकार लाग्नुपर्नेमा जोड दिए । मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले सहयोग गरेको पिसिआर मेसिन हस्तान्तरण गर्न उनी आज हेलिकोप्टरमार्फत मेसिन लिएर जिल्ला आएका हुन् ।