चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि माडी नगरपालिका अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी सुरु गरेको हो ।
नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद् र पुरातत्वविद्को खोजी भइरहेको बताए । उनले भने, ‘पुरातत्त्व विभागलाई अध्ययन गर्न आग्रह गरिएको छ ।’ माडीका धार्मिक गुरुहरुको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरेको उनले बताए ।
धार्मिक गुरुहरुलाई उद्धृत गर्दै ढकालले रामायणमा उल्लिखित अधिकांश तथ्य र प्रमाण यहाँ रहेको जानकारी दिए । उनले भने, ‘अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्, यी रामायणसँग जोडिएका छन् ।’
उनले आफूहरुले अयोध्या प्रमाणित हुने तथ्य खोजेरै छाड्ने दाबी गरे । उनका अनुसार तीनै तहका सरकारको सहयोगमा तत्कालै पुरातात्विक वस्तुको उत्खनन र प्रमाण जुटाउन लाग्नुपर्ने देखिन्छ ।
समाजसेवी श्याम विष्टले भने, ‘यहाँ केही न केही छ, अहिलेसम्म ओझेल परेको छ, प्रधानमन्त्रीले त्यत्तिकै बोल्नुभएको छैन ।’
उनका अनुसार माडीमा मानवबस्ती बसाउने सुरुवाती चरणमा घर बनाउँदा र जग्गा सम्याउँदा पुराना सिक्का, मूर्ति भेटिने गरेका थिए । अहिले पनि कतिपय ठाउँमा खन्दा त्यस्ता पुरातात्विक वस्तु फेलापर्ने गरेको उनले जानकारी दिए ।
अयोध्यापुरी क्षेत्र समेटिएको माडी–८ का अध्यक्ष कृष्णप्रसाद अधिकारी अयोध्या यहीँ हुन सक्ने भन्दै प्रमाण जुटाउन लाग्नुपर्ने बताउँछन् । उनले भने, ‘रामायणसँग जोडिएका धेरै विषय यहाँ छन्, राम जन्मिएको प्रमाण नभए पनि खोजी गर्नुपर्छ ।’
चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी धार्मिक, सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । साविक अयोध्यापुरी गाविसको वडा–७, ८ र ९ मुख्य गरी अयोध्यापुरी क्षेत्र हो । हाल माडी नगरपालिका–८ मा आयोध्यापुरी गाउँपर्छ, जुन अहिले चर्चामा छ । भरतपुरबाट ४८ किलोमिटर दूरीमा दक्षिणतर्फ अयोध्यापुरी पर्छ । यहाँ वरिपरि ठूला डाँडा छन् । यसै अयोध्यापुरीमा राम सीता बसेको बैकुण्ठ ताल, राम सीता गुफालगायतका प्राचीन संरचना छन् ।
माडी–९ को सिमानानजिक रामसीता नामका गुफा छन् । वडा–८ मा बैकुण्ठ तालसँगै एक घण्टा पैदल हिँडेपछि धनलक्ष्मी छहरा
पुगिन्छ । यी सबै संरचना राम सीतासँग जोडिने स्थानीय बताउँछन् । माडीकै वडा–१ मा अवस्थित वाल्मीकि आश्रम पनि राम सीतासँग जोडिन्छ । रामले सीतालाई सो आश्रममा छाडेको र लव कुशको जन्म तथा शिक्षा लिएको ठाउँको रुपमा वाल्मीकि आश्रमलाई लिइन्छ । यो आश्रम अयोध्यापुरीबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।
प्रधानमन्त्रीको भनाइ पछि स्थानीयहरु उत्साहित भएका छन् । लकडाउनको समय भए पनि कतिपय धार्मिक गुरु र इतिहासका प्राध्यापक तथा विद्यार्थी अयोध्यापुरीको अवलोकन गर्न आउने गरेका छन् । नगर प्रमुख ढकालका अनुसार स्थानीयले माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका राख्न अनुरोध गरेका छन् ।