काठमाडौ– साझा यातायातले भोलि (१ साउन)बाट बस सेवा सुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा सेवा सुरु गर्न लागेको हो ।
पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।
बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ । पाण्डेका अनुसार यात्रुले साझाका बसमा चढ्दा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ ।
उनले भने, ‘बसका कर्मचारीले पनि मास्क, पन्जा र सेनिटाइजरको व्यवस्था गरिएको छ ।’
पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ । पहिले थोरै बसबाट सुरु गरिएकामा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए । सरकारले तोकेअनुसार नै भाडा लिइनेछ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि साझाले बस मर्मतलगायतका काम गरिरहेको थियो ।
यातायात व्यवस्था विभागले औपचारिक रुपमा पत्र नदिएकाले सेवा सुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै सुरु गरिएको हो । उनले भने, ‘आगामी दिनमा आवश्यकतानुसार सेवा विस्तार हुनेछ ।’