हेटौँडा– जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बुधबारको थुनछेक बहसपछि आफ्नै बुहारी सुस्मिता केसी थापाको हत्या गरेको अभियोगमा सुसरा प्रकाश थापा, सासू तुलसाकुमारी थापा, नन्द सीता थापा र आमाजू दुर्गा थापा कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
असार २ गते आफ्नै घरमा मृत अवस्थामा फेलापरेकी सुस्मिताको हत्यामा ससुरा, सासू, नन्द, आमाजू र ज्वाइँको संलग्नता रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । हत्यामा संलग्न रहेका आमाजू दर्गा थापा कार्कीका पति अरुण कार्की (ज्वाइँ) फरार रहेकाले उनको नाममा पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि ससुरा प्रकाशलाई भीमफेदी कारागार तथा सासु तुलसा, नन्द सीता र आमाजू दुर्गालाई चितवनस्थित कारागारमा राखिने अदालतले जनाएको छ ।
मृतक सुस्मिता थापाको माइती पक्षले घरपरिवारले नै हत्या गरेको हो भनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी असार १५ गते सार्वजनिक गरेको थियो ।
बुहारी सुस्मितालाई मृतक छोरोका तर्फबाट आउने बिमाबापतको रकम पाउने भएकाले ससुरा–सासूलगायतको नातेदारले उक्त रकम आफैंले खर्च गर्न पाउने उद्देश्यले बुहारीको नियोजित रुपमा हत्या गरेको जिल्ला अदालतमा दिएको बयानमा उनीहरुले स्वीकार गरेको बताइएको छ ।