बुटवल– बुटवलमा एक दशकअघि सुरु भएर अलपत्र रहेको पशु बधशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन उद्योगका रुपमा निर्माण सुरु गरिएको छ । बधशाला २२ करोड १३ लाख ३५ हजारको लागतमा बनाउन ठेक्का सम्झौता भएको छ । १८ महिनामा निर्माण सक्ने गरी सम्झौता भएको हो ।
आज मुख्यमन्त्री शंकर पोखरेलले बधशालाको शिलान्यास गरे । उनले बुटवल उपमहानगरले किसान, व्यवसायी, सहकारी समेतलाई साझेदारीमा लिएर काम सुरु गरेकाले बधशाला निर्माणलाई प्रदेश सरकारले आवधिक योजनामा समावेश गरेको बताए।
उनले उद्योगलाई आगामी १० वर्षपछि स्वचालित प्रक्रियाबाट उच्च प्रविधियुक्त बनाउने गरी आधार तयार गर्न सुझाव दिए । उनले स्वचालित प्रक्रियाबाट उद्योग सञ्चालन गर्दा उत्पादित मासुजन्य वस्तुले सिंगो देश र विदेशमासमेत बजार बनाउन सकिने बताए ।
बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सार्वजनिक निकाय, किसान, व्यवसायी र उपभोक्ता सबैको साझा सहकार्यबाट बधशाला निर्माणको काम अगाडि बढेको बताउँदै प्रमुख सुवेदीले सहकार्य गर्ने सबैलाई धन्यवाद दिए ।
प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको बधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेसनलले गरिरहेको छ ।
बधशालाका लागि पहिलो चरणमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७ करोड, बुटवल उपमहानगरपालिकाको ३ करोड गरी आव २०७६-७७ मा कुल १० करोड बजेट विनियोजन भइसकेको छ ।
परियोजना निर्माण र सञ्चालनका लागि हालसम्म उद्यमी महिला सदस्यबाट करिब ७ करोड तथा मासु व्यवसायीबाट ३ करोड ७८ लाख सकलन गर्ने प्रतिबद्धता आइसकेको हेफरका कार्यक्रम संयोजक अनन्त सिलवालले बताए ।