एजेन्सी– दुई वर्षका सिरियाली शरणार्थी बालक एलन कुर्दीको मृत्युमा जिम्मेवार रहेको ठहर गर्दै टर्कीको एक अदालतले ३ जना टर्किश नागरिकलाई जनही १ सय २५ वर्षको जेल सजाय सुनाएको छ। २०१५ मा एलन कुर्दीको डुबेर मृत्यु भएको थियो जसलाई सिरियामा जारी गृहयुद्धको भयानकताको एक प्रतिक मानिएको थियो।
२ वर्षका यी बालक एलनको शव टर्कीको एक समुद्र किनारमा घोप्टो अवस्थामा रहेको एउटा तस्वीर विश्वभरका अखबारको मुखपृष्ठमा प्रकाशित भएको थियो जसले पूरै विश्वको ध्यान तानेको थियो। यसले शरणार्थीहरुप्रति सहानुभूतिको लहर संचार भएको थियो।
एलनसँगै उनका ५ वर्षका दाजु गालिप, आमा रिहान र अन्य २ जना शरणार्थीको मृत्यु भएको थियो। १४ आप्रवासीलाई लिएर ग्रिसको टापु कोसतर्फ हिँडेको एउटा डुंगा दुर्घटना हुँदा यी ५ जनाको ज्यान गएको थियो। यो परिवारबाट एलनका पिता मात्र बाँचेका थिए।