काठमाडौं ।चक्रवात ‘अर्णव’ को प्रभावसँगै मौसममा आएको परिवर्तनका कारण हिमाली जिल्ला मनाङका उच्च भूभागमा हिमपात भएको छ।
बिहीबार रातिदेखि उच्च क्षेत्रमा हिउँ परेको छ भने तल्लो बस्तीमा वर्षा भइरहेको छ।मौसम प्रतिकूल बनेपछि स्थानीय प्रशासन र सम्बन्धित निकायले पर्यटक तथा स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र आफू रहेकै स्थानमा सुरक्षित बस्न अनुरोध गरिएको छ।
माथिल्लो मनाङको मनाङ गाउँ, टंकी मनाङ र खाङ्सार क्षेत्रमा राति सामान्य हिमपात भए पनि शुक्रबार बिहानसम्म हिउँ पग्लिएको स्थानीयले बताएका छन्। यद्यपि बिहानैदेखि ती क्षेत्रमा वर्षा भइरहेको छ।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार बस्तीमा ठूलो हिमपात नभए पनि आसपासका उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ। मौसमको अवस्था प्रतिकूल रहेकाले स्थानीय र पर्यटकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको उनले बताएका छन्।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार तिलिचो क्षेत्र तथा थोराङ्ला पास जाने बाटोका गुन्साङ, याकखर्क र लेदर क्षेत्रभन्दा माथिल्लो भागमा हिमपात भएको छ।
मौसम बिग्रिएपछि एक्यापले बिहीबारदेखि माथिल्लो मनाङतर्फ पर्यटकको आवागमनमा रोक लगाएको छ। बुधबार मात्रै ७० जना पर्यटकको प्रवेश अभिलेख गरिएको थियो। अहिले तिलिचो ताल र थोराङ्ला पास हुँदै मुस्ताङ तथा मुक्तिनाथ जाने पर्यटकलाई अनुमति दिइएको छैन।भुजेलका अनुसार मनाङ उपत्यकामा अहिले करिब चार सय पर्यटक रहेको अनुमान छ। आधिकारिक रूपमा यात्रा रोकिए पनि केही पर्यटकले निर्देशन अटेर गरेर अघि बढ्न सक्ने भएकाले जोखिमप्रति सचेत रहन उनले आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार बिहीबार राति करिब १ बजेदेखि मनाङमा वर्षा सुरु भएको थियो। उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाम चामे र आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ। वर्षाका कारण तापक्रम घटेर चिसो बढेको छ।प्रशासनले पर्यटकलाई आफू बसेकै स्थानमा सुरक्षित रहन निर्देशन दिएको छ। होटलको बुकिङ वा अन्य अत्यावश्यक कारणले अर्को स्थानमा जानुपर्ने भए सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै यात्रा गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताएका छन्।
यसैबीच प्रतिकूल मौसमलाई ध्यानमा राख्दै बेंसीसहर–चामे सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मौसमको अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको जनाएको छ।