काठमाडाैँ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा पनि देखिएको छ।
चक्रवातको असरले उच्च हिमाली भेगमा हिमपात भएपछि कञ्चनजङ्घा आधारशिविर पुग्न हिँडेका आन्तरिक तथा विदेशी पर्यटकको यात्रा प्रभावित बनेको छ। मौसम प्रतिकूल भएपछि लोनाक, खाम्बाचेन र आधारशिविर आसपास पुगेका पर्यटक सुरक्षित स्थान खोज्दै घुन्सातर्फ फर्किएका छन्। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्तर्गत घुन्सा चेकपोस्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार अहिले अधिकांश पर्यटक घुन्सामै बसेका छन्। केही पर्यटक भने मौसमको अवस्था बेवास्ता गर्दै माथिल्लो क्षेत्रतर्फ गएका छन्।
उनका अनुसार माथिल्लो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ भने हिमाल र आसपासका डाँडाकाँडा हिउँले ढाकिएका छन्। समुद्री सतहबाट ३ हजार ४७५ मिटर उचाइमा रहेको घुन्सालाई कञ्चनजङ्घा आधारशिविर पुग्ने मुख्य प्रवेशमार्गका रूपमा लिइन्छ। घुन्साबाट खाम्बाचेन, लोनाक हुँदै उत्तरी आधारशिविर पाङ्पेसम्म पुग्न सकिन्छ। यी क्षेत्र क्रमशः ४ हजार ५० मिटर, ४ हजार ७८० मिटर र ५ हजार १४३ मिटर उचाइमा रहेका छन्। अहिले यी सबै क्षेत्रमा हिमपात भएको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार हाल स्वदेशी तथा विदेशी गरी करिब २५० पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेका छन्। प्रतिकूल मौसमका कारण उनीहरू ओलाङचुङगोला, घुन्सा, याम्फुदिनलगायतका बस्ती तथा होटलमा रोकिएका छन्। यसैबीच, भदौदेखि कात्तिक १२ गतेसम्म ६ सय विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरिसकेका छन्। यता, जिल्लाको सदरमुकाम फुङ्लिङमा समेत बिहीबारदेखि वर्षा भइरहेको छ। उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात हुँदा ताप्लेजुङमा चिसो थप बढेको छ भने कञ्चनजङ्घा आधारशिविर जाने पर्यटकको यात्रा अनिश्चित बनेको छ।