काठमाडौं ।चक्रवात ‘अर्नब’को प्रभावका कारण नेपालका विभिन्न नदी तथा जलाधार क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावना देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाले विशेष पूर्वसूचना जारी गर्दै नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ।महाशाखाका अनुसार यी नदीका जलाधार तथा सहायक नदी क्षेत्रमा पछिल्लो समय वर्षा भइरहेको छ। थप वर्षा हुने सम्भावना रहेकाले नदीको जलस्तर बढ्न सक्ने अनुमान गरिएको हो।शुक्रबार नारायणी, कोशी र तिनका सहायक नदीसँगै बागमती, कमला तथा कन्काई नदी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। यसका कारण ती नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यद्यपि महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीमा भने जलस्तर सामान्य बढ्ने अनुमान छ।
शनिबार पनि कोशी, बागमती, कमला र कन्काई नदी आसपास हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। पछिल्ला तीन दिनको वर्षाको प्रभावले केही नदीमा शनिबार जलस्तर उच्च बिन्दुमा पुग्न सक्ने अनुमान गरिएको छ। तर प्रमुख नदीहरूमा सतर्कता तह पार गर्ने सम्भावना कम रहेको महाशाखाले स्पष्ट पारेको छ।आइतबारदेखि भने कोशी, बागमती र नारायणी नदीका केही जलाधार क्षेत्रमा हल्का वर्षा हुने र बाढीको जोखिम क्रमशः घट्दै जाने प्रक्षेपण गरिएको छ। आगामी कात्तिक १६ र १७ गतेसम्म प्रमुख नदीहरूको जलस्तर सामान्य अवस्थामा फर्किने अनुमान गरिएको छ।
महाशाखाले वर्षाको वास्तविक अवस्था र नदीमा पानीको बहावअनुसार जोखिममा परिवर्तन आउन सक्ने जनाएको छ। विशेषगरी कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको सम्भावना रहेकाले थप सावधानी अपनाउन आग्रह गरिएको छ।यसैगरी शुक्रबार र शनिबार नारायणी, बागमती, कमला, कन्काई तथा कोशी नदीका पहाडी र चुरे क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने तथा तल्लो र होचा भूभागमा डुबान हुन सक्ने चेतावनी दिइएको छ। नदी किनार र जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
हाल देशका अधिकांश भूभागमा बादल लागेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का वर्षा भइरहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ।