पोखरा । पोखरामा क्रियाशील बुद्ध टोल युवा (बिटी) क्लबले सातौँ विरेन स्मृति १७ औँ बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुँडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज (शुक्रवार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
क्लबका अध्यक्ष असीम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए ।अध्यक्ष थापाले फागुन १ गतेदेखि प्रतियोगिता सुरु गर्ने बताउँदै टिमको सहभागिताको आधारमा समापनको मिति तय गरिने जानकारी दिए ।
यस्तै सो प्रतियोगिताको विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । उनका अनुसार उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफिसहित नगद रु १० हजारले पुरस्कृत गरिने बताए ।यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
टिम सहभागिताका लागि नगद रु ९ हजार निर्धारण गरिएको सो प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । यसअघिको संस्करणको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।