काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।
शुक्रबार टियू मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २७४ बनायो।
उसका लागि माइकल लीस्कले विस्फोटक शतकीय पारी खेले। उनको यो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो शतक हो। ८५ बलको सामना गरेका माइकलले ३ चौका र ९ छक्काको मद्दतमा अविजित १ सय ७ रन बनाए।
त्यस्तै, ज्याक जार्विसले २६, क्रिस्टोफर म्याकब्राइड, ब्रान्डन म्याकमुलेनले २२र२२, मार्क वाटले २०, टमस म्याकिन्टोस, कप्तान रिची बेरिंगटनले १९–१९ र क्रिस ग्रीव्सले १६ रनको योगदान दिए।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १–१ विकेट लिए।
जारी सिरिजमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन्। पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले र स्कटल्याण्डले नामिबियालाई नै १० विकेटले हराएको थियो।
