काठमाडौं। विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ।
इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गरे।
अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुवै शोको पहिलो अडिसन आइतबार साँझ सम्पन्न भएको छ।
अमेरिका र क्यानाडाका गरी गायनमा एक सय ८७ र नृत्यमा ७६ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएका थिए। नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको यो पहिलो अडिसनमध्ये गायन विधामा सर्वाधिक अङ्क ल्याउने १५ प्रतियोगी ‘साइट्लेस अडिसन’का लागि छनोट भएका छन्। उनीहरुबीच काठमाडौंमा प्रतिस्पर्धा हुनेछ।
नृत्यका लागि भने अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा फेब्रुअरी ५ मा अर्काे अडिसन हुने तय भएको छ। सो अडिसनबाट टप १२ छनोट गरी नेपालको साइटलेस अडिसनका लागि पठाइने आयोजक संस्था फाउण्डेनका अध्यक्ष अधिकारीले जानकारी दिए।
अमेरिका र क्यानडाको लागि भ्वाइसमा सङ्गीतकार तथा गायक केशव पौडेल, गायिका नलिना चित्रकार र गायक अर्जुन रसाइली तथा नृत्यका लागि नायक दिलीप रायमाझी, नृत्य प्रशिक्षक शङ्कर विसी र नृत्य प्रशिक्षक नरमान राई निर्णायक मण्डलमा छन्।
उद्घाटनका अवसरमा अध्यक्ष अधिकारीले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्नका लागि विश्वस्तरीय प्रथम अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सुरु गर्दा आफूलाई गर्व लागेको बताए।
अध्यक्ष अधिकारीका अनुसार, दुवै शोमा प्रथम हुनेलाई जनही रु एक करोड रकम पुरस्कार दिइने छ। उनले यति ठूलो धनराशि पुरस्कार भएको नेपाली रियालिटी शो यो नै पहिलो भएको पनि जानकारी दिए।
सबै प्रतियोगी नेपाली मूलका हुनु अनिवार्य रहेको र प्रतियोगी नेपालीभाषी हुनुपर्ने छ। दुवै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट सुरुआत गरिने र प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ व्यक्तित्व एवं कलाकारको सम्मान गरिनेछ। रासस