काठमाडौं। प्रतिनिधिसभाको सभामुखमा सत्ता साझेदार दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।
आज प्रतिनिधिसभा बैठकमा भएको मतदानमा उनी १६७ मत मत ल्याउँदै निर्वाचित भएका हुन्। उनको विपक्षमा एक सय मत खस्यो। आजको बैठकमा २६८ सांसद उपस्थित थिए। एक जना सांसद भने तटस्थ रहे ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ।
सत्ता गठबन्धनमा भागबण्डाका क्रममा सभामुख एमालेको भागमा परेको थियो। घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे।
सभामुखका लागि विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा थिइन्। घिमिरेले सभामुखका लागि बहुमत ल्याएपछि उनलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गरिएन।
उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो।
को हुन् घिमिरे ?
२०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा–२ बाट निर्वाचित भएका थिए। उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्जसमेत हुन्।
विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरेले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए। उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए। घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका छन्।