काठमाडौं। प्रतिनिधिसभामा सभामुख पदका लागि आज मतदान हुँदैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक सुरू भएको छ।
उक्त संसद् बैठकमा हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी सहभागी भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
साथै, कांग्रेसका सांसद रामहरि खतिवडाले उक्त विषयमा गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराए।
उनले हत्या अभियोगमा फरार रहेका एमाले सांसदलाई मतदान प्रक्रियामा सहभागी नगराउन माग गरे।
खतिवडाले भने, ‘हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ। उहाँको मतदान प्रक्रिया रोकियोस्।’
यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले पुस २७ गते एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएका थिए। तर, उनी अझैं पक्राउ परेका छन्।
सांसद महतो मधेस आन्दोलनका क्रममा सशस्त्रका असई थमन विकको हत्या अभियोगमा फरार सूचीमा छन्।
महतोले गत मंगलबार संसद्मै उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए। फरार व्यक्तिले संसदमै देखिएको भन्दै गृहमन्त्रीको चौतर्फी आलोचना भएको थियो।