काठमाडौँ । धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ। शुक्रबार साँझदेखि भएको आगलागी केही बेरअघि मात्र नियन्त्रणमा आएको हो।
धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारमा आगलागी भएको हो। बाक्लो बस्ती भएकाले आगो अन्यत्र फैलिन नदिन स्थानीयवासी र प्रहरी टोलीका साथै दमकलहरू परिचालन गरिएका थिए।
छथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिसीका अनुसार केहीबेरअघि मात्र आगो पूर्ण नियन्त्रणमा आएको हो। आगलागीबाट चार घर पूर्ण जलेका छन्। आगो निभाउन धनकुटा नगरपालिका र लालीगुराँस नगरपालिकाका दमकल खटिएका थिए।
बजारका अन्य घरहरू जोखिममा परेकाले आगो फैलिन नदिन नजिकका केही घर स्थानीयले भत्काएका समेत छन्। आगलागीबाट हालसम्म मानवीय क्षति भएको छैन। आगलागीको कारण पनि खुल्न सकेको छैन।