काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताएका छन्।
मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै प्रचण्डले भने, ‘संसदका नयाँ दलमा आवेग र केही गर्ने हुटहुटी रहेको र त्यो आवेग रचनात्मक भूमिकामा परिणत हुने विश्वास छ। विना इर्ष्या मनैदेखि भन्न चाहन्छु। यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, उहाँहरुमा केही गरौं भन्ने हुटहुटी छ। यो संसदको पुँजी हो, तपाईहरुलाई हृदयदेखि नै स्वागत छ।’
उनले जनताको गुनासो, चासो, समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। उनले आफूहरुलाई समस्या केलाएर बस्ने मात्र छुट नभएको भन्दै समाधानको सूत्र पहिल्याउनुपर्ने बताए। प्रचण्डले विविधताबीचको एकतारुपी संसद् विरलै देख्न पाउने भन्दै नेपालको संसद्प्रति वर्ग गर्नुपर्ने बताए।
साझा उद्देश्य र कामका लागि सबै राजनीतिक दल, सांसदहरू एक ठाउँमा उभिएर सम्बोधनको प्रयास गर्नुपर्ने उनले बताए।
राजनीतिलाई भावना र उत्तेजनाभन्दा पनि आर्थिक समृद्धिका निम्ति पहल लिनुपर्ने उनले बताए।
प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताए।