पाल्पा। पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका अधिकांशमा आउँका किटाणु देखिएको पाइएको छ।
मिसन अस्पतालमा उपचार गर्न गएकाहरूको दिसा जाँचको रिपोर्टमा आउँका किटाणु देखिएको युनाइटेड मिसन अस्पताल पाल्पाले जनाएको छ।
बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीहरूको घरघरमा पुगेर उपचार गर्ने क्रममा समेत यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए।
बिरामीमध्ये कतिपयलाई सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ। हिजो पुनः गर्भवती महिला, बालक र अर्का एक महिलासहित तीन जना नयाँ बिरामी भेटिएका छन्। मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्ट अनुसार सबैमा दिसामा एक प्रकारको किटाणु देखिएको छ।
दूषित पानी, खानाबाट हुने कीटाणुबाट आउँ परेको देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले जनाएको हो।
बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सय बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेका छन्। निम्तो मान्न आएका छिमेकी गाउँ र प्युठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए।
स्वास्थ्य कार्यालयले के खाएर फुड पोइजन भयो भन्ने पत्ता नलागेको र पानी जाँचका लागि नमूना सङ्कलन गरेको जनाएको छ।