काठमाडौं ।सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार बिदाइ भेटवार्ता भएको छ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको भेटमा सभामुख अर्यालले नेपालमा राजदूतका रूपमा श्रीवास्तवले पूरा गरेको कार्यकालका लागि बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरे।सभामुखले श्रीवास्तवको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।नेपालमा पछिल्लो समय भएका विपद्का क्रममा भारतले गरेको राहत तथा उद्धार सहयोगप्रति पनि उनले धन्यवाद व्यक्त गरे। भारतीय वायुसेनाका विमानबाट राहत सामग्री ल्याइनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ र फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको उनले उल्लेख गरे।
भेटवार्तामा नयाँ प्रतिनिधि सभा गठनपछि बनेको नेपाल–भारत संसदीय मैत्री समूह र त्यसमार्फत अघि बढाउन सकिने अन्तरसंसदीय सहकार्यबारे समेत छलफल भएको थियो।सभामुख अर्यालले संसदीय कूटनीतिलाई दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने माध्यमका रूपमा विकास गर्नुपर्ने बताए। उनले दुवै देशका सांसदबीच अनुभव आदानप्रदान, आपसी समझदारी र संसदीय अभ्यासका असल पक्ष साझा गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।भेटमा राजदूत श्रीवास्तवले रसुवामा भएको क्षतिलाई गम्भीर विपद्का रूपमा उल्लेख गर्दै भारतबाट राहत तथा उद्धारका लागि सहयोग जारी रहेको बताए। उनले कठिन परिस्थितिमा भारत नेपालसँगै रहने प्रतिबद्धता व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ।