तनहुँ। बन्दीपुर गाउँपालिका–२ पार्नेमा नरभक्षी चितुवालाई गोली हानी मारिएको छ।
प्रहरी नायब निरीक्षक रामशरण रानाको कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।
करिब ५० किलो तौल भएको चितुवामाथि दुई राउण्ड गोली प्रहार गरी मारिएको हो। सोमबार साँझ मारिएको चितुवालाई डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको छ।
निरन्तर रूपमा तनहुँमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न कात्तिक १६ गते जिल्ला प्रशासन कार्यालयले आदेश दिएको थियो।
व्यास नगरपालिका, बन्दिपुर गाउँपालिकाका साथै स्थानीय व्यक्तिहरूले नरभक्षी चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि उक्त चितुवा मार्नुपर्ने भनी प्रतिवेदन उपलब्ध गराएपछि स्थानीय प्रशासनले सो चितुवा मार्न निर्देशन दिएको हो।
विगत पाँच वर्षको अबधिमा भानु नगरपालिका, आँवुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा गरी १४ जना बालबालिका चितुवाको आक्रमण परी ज्यान गुमाएका छन् भने दर्जन भन्दा बढी बालिबालिका घाइते छन्।