काठमाडौं। मतपरिणाम अन्तिम अवस्थामा पुग्दा केही नेताहरुले अग्रता लिएका छन्।
दीपक बोहरा
प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्।
दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्। उनीहरूबीच २३१ मतान्तर छ।
राजेन्द्र महतो
सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो पहिलो पटक अगाडि बढेका छन्।
पछिल्लो मत गणना अनुसार राजेन्द्र महतो ८८९० मत पाएका छन् नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले भने ८७५० मत ल्याएका छन्। उनीहरूबीच १४० मतको अन्तर छ।
हरिनारायण यादव
महोत्तरी–३ मा जनता समाजवादी पार्टीका हरिनारायण यादव अघि लागेका छन्।
उनले ८७४८ मत ल्याउँदा लोकतान्त्रिक समाजवादीका महन्थ ठाकुरले ८३३८ मत ल्याएका छन्। यादव–ठाकुरबीच ४१० मत अन्तर छ।
प्रदीप ज्ञवाली
गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवालीले फेरि अग्रता कायम गरेका छन्।
यसअघि ८ सय मतले पछि रहेका ज्ञवाली अहिले ५१३ मतले अघि देखिएका छन्। ज्ञवालीले १६ हजार ३४६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चन्द्र भण्डारीले १५ हजार ८३३ मत प्राप्त गरेका छन्।
गोकुल बास्कोटा
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गठबन्धनका उम्मेदवार शिव हुमागाईलाई पछि पार्दै अग्रता बढाएका छन्। सुरूदेखि नै गणनामा पछि परेका बास्कोटाले अहिले १५ सयभन्दा माथिको अग्रता लिएका छन्।
बास्कोटा २७ हजार १८२ मतसहित अग्रस्थानमा छन् भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हुमागाई २५ हजार ६४९ मतसहित पछ्याइरहेका छन्।
बैतडी
दामोदर भण्डारी (एमाले)– २८३६८
नरेन्द्र कुँवर (माओवादी)– २८०५८
मतान्तर ३१०