काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई व्यक्तिगत व्यवहार र आचरणमा सुधार गर्दै जनताको सेवामा केन्द्रित हुन आग्रह गरेका छन्।
शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्न नयाँ केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका हुन्।नवनियुक्त केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफ्नो क्षमता र सामर्थ्य पूर्ण रूपमा प्रयोग गर्ने अपेक्षा व्यक्त गरे।ओलीले राजनीतिक यात्रामा कहिलेकाहीँ पार्टीले चुनौती वा धक्का सामना गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै त्यस्ता परिस्थितिबाट पुनः अघि बढ्न सकिने बताए।
उनले एमालेका नेताहरूको व्यक्तिगत आचरण पार्टीको पहिचानसँग जोडिने भएकाले खराब व्यवहार र गलत बानीबाट टाढा रहनुपर्नेमा जोड दिए। नेताहरू आदर्श र अनुकरणीय बन्नुपर्ने उनको भनाइ थियो।आफ्नो सम्बोधनका क्रममा ओलीले नेताहरूले रिस, आवेग तथा अनुचित व्यवहारलाई नियन्त्रण गर्नुपर्ने भन्दै व्यंग्यात्मक शैलीमा ‘रिसाउने बानी भए घरको खोपामै राख्न’ आग्रह गरे।एमालेको राजनीतिक आचरण शुद्ध, अनुशासित र उदाहरणीय हुनुपर्ने उल्लेख गर्दै उनले नयाँ जिम्मेवारी पाएका नेताहरूलाई जनतासँग जोडिएर काम गर्न निर्देशन दिए।