काठमाडौं। नेपालले युएईसँगको सिरिज जितेको छ।
तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले युएईसँगको सिरिज २–१ ले जितेको हो। घरेलु मैदानमा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला हासिल गरेको पहिलोपटक हो।
१७७ रनको लक्ष्य पाएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनायो।
सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो।
नेपाललाई सिरिज जिताउन ओपनर आशिफ शेख र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट अर्धशतक प्रहार गरे। आशिफले ११९ बलमा नटआउट ८८ र मल्लले ७३ बलमा ६४ रन बनाए।
ज्ञानेन्द्रले आशिफसँग मिलेर दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए। दोस्रो विकेटमा नेपालका लागि यो कीर्तिमानी साझेदारी हो। यसअघि ओमानसँग यी दुईले नै ९२ रनको साझेदारी गरेका थिए।
त्यस्तै, कप्तान रोहित पौडेल १० रनमा रनआउट हुँदा अर्जुन साउँद ९ रनमा क्याच आउट भए।
युएईएका आयान खान र हजरत बिलालले १–१ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको थियो।
युएईका आयन खानले ५४, अलिशान शराफुले ३३, रोहन मुस्तफाले २४, हजरत बिलालले २० र ओपनर मोहम्मद वासिमले ११ रन बनाए।
एक समय ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको युएईका लागि आयन खान र हजरत बिलालले त्कृष्ट साझेदारी गर्दै स्कोर १७६ पुर्याए।
युएईलाई सस्तैमा समेट्न नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२, सोमपाल कामी र ललितनारायण राजवंशीले १–१ विकेट लिए।