विराटनगर । मंगलबार बिहानैदेखि परेको अविरल वर्षापछि बस्तीहरूमा खोला पस्दा विराटनगर महानगरपालिका क्षेत्रभित्र १९९ घर परिवार विस्थापित भएका छन् ।
बाढी र डुबानको जोखिम बढ्दै गएपछि मंगलबार महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको आकस्मिक बैठकमा जिउँ ज्यानको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा वडाध्यक्षहरूले जोड दिए ।
महानगरपालिका पूर्वतिर सिंघीया र पश्चिममा केशलिया खोलाको पानी बस्तीमा पसेको हो । बस्तीहरुमा पानी पस्दा खोला किनारका घरहरु डुबानमा परेका हुन् । वडा १ मा ३० घर, २ मा ८२, ७ मा ५२ र ८ मा ३५ घर विस्थापित भएको जनाइएको छ । जोखिम क्षेत्रका अधिकांशलाई सुरक्षित स्थानमा सारिएको छ ।
सिंघीया खोलाको पानी सहजै पस्ने विराटनगरको वडा नम्बर १, २ र ७ र ८ का बस्तीहरु डुबेका हुन् । बर्सेनिको बाढी र डुबानको समस्याको दिगो समाधान हुन नसक्दा विराटनगरमा खोला किनारका अधिकांश बस्तीहरु डुब्दै आएका छन् ।