काठमाडौं। भीएफएस (भिसा फ्यासिलेसन सर्भिस)को ज्यादतिविरुद्ध विद्यार्थीले विद्रोह गरेका छन्।
बिहीबार कार्यालयमै गएर विद्यार्थी तथा अभिभावकले भीएफएसको ज्यादतिविरुद्ध विद्रोह गर्दै नाराबाजी गरेका छन्। सो क्रममा झडपको स्थितिसमेत सिर्जना भएको थियो।
कार्यालयमै गएका विद्यार्थी तथा अभिभावकले भीएफएसको नेपालमा कार्य गर्दै आएका अमित चुके र उनकी श्रीमती शेरफ चुकेविरुद्ध नारावाजी गर्दै राजीनामा समेत माग गरे।
यसअघि नेपाली पब्लिकले ‘भीएफएसको ताण्डव : चुकेका बुढाबुढी मालामाल, तनावमा विद्यार्थी’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो।
पढ्नुस्, उक्त समाचार
भीएफएसको ताण्डव : चुकेका बुढाबुढी मालामाल, तनावमा विद्यार्थी
उक्त समाचारमा भीएफएसको नेपालमा कार्य गर्दै आएका चुकेका बुढाबुढीले आफूले चाहेको समयमा मात्रै बायोमेट्रिकका लागि आवेदन दिने सर्भर खुला गर्ने, बायोमेट्रिकका लागि समय पाएका विद्यार्थीको पनि मिति आफैं परिवर्तन गरिदिने, केही शैक्षिक परामर्श व्यवसायीको साँठगाँठमा बायोमेट्रिकको समय दिने गरेको खुलासा गरिएको थियो।
समाचार प्रकाशितपछि भीएफएसको कर्तुतबारे जानकारी पाएर आन्दोलनमा उत्रिन बाध्य भएको विद्यार्थी तथा अभिभावकले बताएका छन्।
अष्ट्रेलिया जाने तयारीमा रहेकी एक विद्यार्थीले भनिन्, ‘प्राविधिक समस्या होला कि भनेर अहिलेसम्म सहेर बसेका थियौं। यहाँ त प्राविधिक समस्या नभएर सेटिङमा हामीजस्ता विद्यार्थीलाई दुख दिने नियत रहेछ। अब हाम्रो समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्छौं। भीएफएसको सेवा सहज नहुँदासम्म हामी पछि हट्दैनौं।’
नाराबाजीपछि पनि चुकेका बुढाबुढीले विद्यार्थी तथा अभिभावकको विरोधलाई थामथुप पार्ने प्रयास गरे। तर, उनीहरु नरोकिएपछि चुकेका बुढाबुढीले सर्भर नचल्ने समस्या र केही विद्यार्थीको प्राविधिक समस्या समाधान गर्ने आश्वासन दिए।
यसअघि चुकेका बुढाबुढीले केही शैक्षिक परामर्श व्यवसायीसँगको साँठगाँठमा विद्यार्थीलाई बायोमेट्रिकको समय उपलब्ध गराउँदै आएका थिए। तर, आजको विरोधपछि साँठगाँठ गरेका शैक्षिक परामर्श व्यवसायी तथा संगठनलाई पनि अब साँठगाँठको सहकार्य नगर्ने भनेर भीएफएसले जानकारी गराएको बताइएको छ।
बिहीबार भीएफएसको कार्यालयमा विद्यार्थी तथा अभिभावकले गरेको नाराबाजीको भिडिओ नेपाली पब्लिकसँग सुरक्षित छ।
नोटः भीएफएसबाट पीडित विद्यार्थीको समस्या समाधानका लागि नेपाली पब्लिकले अभियान नै सञ्चालन गरेको छ। भीएफएसबाट पीडित विद्यार्थीले भाइवर नम्बर +९७७९८५११३४७२० नम्बरमा समस्या पठाउन सक्नुहुनेछ। हामी तपाईंका समस्या समाधानको पहल स्वरुप समाचार प्रकाशित गर्नेछौं।